काठमाडौँ । नयाँ वर्ष २०८३ को पहिलो दिन पारेर अभिनेत्री तथा निर्मात्री पूजा शर्माले आफ्नो नयाँ चलचित्र ‘रत्यौली’ निर्माणको औपचारिक घोषणा गरेकी छिन्। नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रालि र पूजा शर्मा प्रोडक्सनको संयुक्त व्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो।
चलचित्रको सबैभन्दा रोचक पक्ष यसको मुख्य कलाकारको छनोट रहेको छ। ‘रत्यौली’मा पूजा शर्माले लोकप्रिय अभिनेता विजय बरालसँग पहिलो पटक जोडी बाँध्ने पक्का भएको छ।
चलचित्रलाई मुस्कान ढकालले निर्देशन गर्नेछन्। चलचित्रको निर्माणमा सुरज आचार्य अगाडि सरेका छन्। आचार्य नेपाली चलचित्र क्षेत्रमा ३२ वर्षदेखि सक्रिय व्यक्तित्व हुन्। उनले १०० भन्दा बढी नेपाली चलचित्रमा प्रोडक्सन डिजाइनरको रूपमा काम गर्नुका साथै भारतीय सुपरहिट चलचित्रहरू ‘उचाई’, ‘फर्जी’, ‘मिराई’ र ‘दश का दम’ जस्ता प्रोजेक्टमा लाइन प्रोड्यूसरको अनुभव बटुलेका छन्।
यसअघि ‘वरमाला’ निर्माण गरेका आचार्यले ‘मेरो लभ स्टोरी’ र ‘कर्मयोद्धा’मा सह–निर्माताको भूमिका निर्वाह गरिसकेका छन्।
सार्वजनिक गरिएको चलचित्रको पोस्टरमा पूजा शर्मा र विजय बराल रत्यौलीको शैलीमा नाचिरहेको देख्न सकिन्छ। पोस्टरमा पूजालाई दौरा सुरुवाल, नेपाली टोपी र ओठमा जुँगा लगाएको भिन्न अवतारमा प्रस्तुत गरिएको छ, जसले चलचित्र कमेडी र पूर्ण मनोरञ्जनात्मक हुने संकेत गरेको छ।
पर्दामा सधैँ लभर ब्वाईको भूमिकामा रुचाइएका विजय र चुलबुले भूमिकामा देखिने पूजाको यो नयाँ सहकार्यलाई दर्शकले निकै चासोका साथ हेरेका छन्। चलचित्रको छायांकन र प्रदर्शन मिति भने निर्माण पक्षले हाललाई गोप्य नै राखेको छ।