काठमाडौँ । घरेलु बक्स अफिसमा नेपाली फिल्म ‘आ बाट आमा’ ले आक्रामक व्यापार व्यवसाय कायम राखेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चैत २८ गतेसम्म यो फिल्मका कुल ५ लाख ४ हजार ९ सय ५ थान टिकट बिक्री भइसकेका छन् । यो प्रभावशाली दर्शक संख्यासँगै फिल्म यस वर्षको सर्वाधिक कमाउने चलचित्रको सूचीमा दोस्रो स्थानमा पर्न सफल भएको छ ।
केही सिनेमा हलहरूमा अझै प्रदर्शनरत यस फिल्मले २८ गतेसम्म कुल १३ करोड १५ लाख १ हजार ५ सय २० रुपैयाँ ग्रस कलेक्सन गरेको बोर्डको विवरणमा उल्लेख छ ।चन्द्र पन्तको निर्देशनमा तयार भएको यस फिल्ममा प्रदीप रावत, विपना थापा, पल शाह, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रवीन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली र बाल कलाकार समाइरा थापालगायतको मुख्य भूमिका रहेको छ ।
सामाजिक कथावस्तुमा आधारित फिल्मलाई दर्शक र समीक्षक दुवैले रुचाएपछि निर्माण पक्ष उत्साहित देखिएको छ । पहिलो भागको व्यावसायिक सफलता र चर्चालाई मध्यनजर गर्दै निर्माण टिमले फिल्मको दोस्रो भाग (सिक्वेल) निर्माण गर्ने औपचारिक घोषणा समेत गरिसकेको छ ।
