काठमाडौँ । ठूलो तामझामका साथ प्रदर्शनमा आएको नेपाली चलचित्र ’हामी तीन भाइ’ ले बक्स अफिसमा निकै कमजोर सुरुआत गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, प्रदर्शनको दुई साता बितिसक्दा पनि फिल्मले उल्लेख्य दर्शक तान्न सकेको छैन ।
बोर्डको शनिबारसम्मको रिपोर्ट अनुसार फिल्मले कुल ७ लाख २९ हजार ८०५ रुपैयाँ मात्र आम्दानी गरेको छ । यो अवधिमा देशभरका हलहरूबाट जम्मा २ हजार ७६८ वटा टिकट मात्र बिक्री भएका छन् ।
चैत १३ गतेदेखि देशभर एकल प्रदर्शनको अवसर पाएको यस फिल्मले पर्याप्त हल र शो पाए पनि दर्शकको साथ पाउन भने असफल देखिएको छ ।
मधुसूदन भट्टराईको निर्देशनमा तयार भएको यो फिल्मले सामाजिक कथालाई कमेडी र पारिवारिक खटपटको शैलीमा प्रस्तुत गरेको छ । फिल्ममा नाम चलेका कलाकारहरूको ठूलो फौज भए पनि व्यापारमा त्यसको प्रभाव देखिएन । यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), आश्मा गिरी, जाहन्वी बस्नेत, यादव देवकोटा (सरापे) लगाएतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
लामो समयपछि पर्दामा फर्किएका र टेलिभिजनका चर्चित कलाकारहरूको अभिनय भए तापनि ’हामी तीन भाइ’ को लगानी उठाउन अब चुनौतीपूर्ण देखिएको छ ।