काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर प्रदर्शनमा आएको बहुप्रतिक्षित नेपाली फिल्म ‘राम नाम सत्य’ ले बक्स अफिसमा सुखद ओपनिङ गरेको छ। फिल्मले प्रदर्शनको सुरुवाती दुई दिनमै दर्शकको उल्लेख्य साथ पाएको छ।
शनिबार अभिनेता विराज भट्ट काठमाडौंका विभिन्न हलहरूमा पुग्दा दर्शकको अभूतपूर्व ‘क्रेज’ देखिएको थियो। विशेषगरी बालाजुस्थित अष्टनारायण हलमा विराजलाई करिब १२ सयभन्दा बढी दर्शकले घेरेका थिए। १ हजार सिट क्षमता भएको हल भरिएपछि दर्शकको चापलाई मध्यनजर गर्दै थप ५ सय सिटको अर्को हलमा पनि फिल्म चलाउनुपरेको थियो।
हलमा विराज पुग्दा दर्शकले हुटिङ र तालीका साथ उनको भव्य स्वागत गरेका थिए। दर्शकको यो माया देखेर विराज निकै उत्साहित देखिएका छन्।
फिल्मका वितरक गोविन्द शाहीले फिल्मको सुरुवाती व्यापार निकै सकारात्मक रहेको बताएका छन्। उनका अनुसार शुक्रबारको तुलनामा शनिबार व्यापारमा ठूलो उछाल आएको छ।
विराज भट्टको भनाइः “सुरुवाती दुई दिनमा फिल्मको व्यापार कस्तो होला भन्ने अलिकति चिन्ता थियो, तर दर्शकले फिल्म र मेरो कामलाई जसरी मन पराउनुभएको छ, यसले हामीलाई ठूलो ऊर्जा दिएको छ।“
देशभरकै व्यापारः काठमाडौं उपत्यका मात्र नभई मोफसलका हलहरूमा पनि फिल्मको व्यापार उत्साहजनक रहेको वितरक कुवेर फिल्मस्ले जनाएको छ।
माइकल चन्दको निर्देशनमा तयार भएको यस फिल्मको एक्सनलाई दर्शकले बलिउड स्तरको भन्दै प्रशंसा गरेका छन्। फिल्ममा विराज भट्टका साथै सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनील थापा र प्रशान्त ताम्राकार लगायतका कलाकारको मुख्य भूमिका छ।
फिल्ममा उपेन्द्र शाही र श्वेता बिमलीको लगानी रहेको छ भने कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन्। नयाँ वर्षको सार्वजनिक बिदाका कारण फिल्मको व्यापारमा अझै बढोत्तरी हुने अपेक्षा गरिएको छ।