काठमाडौं । नेपाली सिनेमाका चर्चित निर्देशक तुलसी घिमिरेलाई ‘मानार्थ नेपाली नागरिकता’ प्रदान गर्न सरकारले प्रक्रिया अगाडि बढाएको छ।
सूचना तथा सञ्चार मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै घिमिरेलाई मानार्थ नागरिकता उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको हो।
नेपाली भाषा, कला र संस्कृतिको उत्थान तथा विकासमा निर्देशक घिमिरेले पुरÞ्याएको विशिष्ट योगदानको कदर गर्दै उनलाई यो सम्मान दिन लागिएको सूचना तथा सञ्चार मन्त्रालयले बताएको छ।
चलचित्र विकास बोर्डको सिफारिस र नेपाल सरकार (सचिवस्तर)को मिति २०६८ असार २४ को निर्णयानुसार यो प्रक्रिया अघि बढेको पत्रमा उल्लेख छ।
मन्त्रालयका शाखा अधिकृत डा. कृष्णबहादुर घिमिरेद्वारा हस्ताक्षरित उक्त पत्रमा गृह मन्त्रालयलाई आवश्यक प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउन अनुरोध गरिएको हो ।
निर्देशक घिमिरेले दशकौँदेखि नेपाली सिनेमा बनाउँदै आएका छन्। उनी भारतीय नागरिक हुन्।
