काठमाडौं । प्रहरी हिरासतमा रहेका लोकप्रिय कलाकार सागर लम्साल ‘बले’ लाई बयानका लागि सरकारी वकिल कार्यालय लगिएको छ । हिजो पक्राउ परेका उनलाई आज म्याद थप गर्नुअघि बयान प्रक्रियाका लागि हत्कडी र थुनुवा पोशाकमै कार्यालय पुर्याइएको हो ।
अमेरिकामा रहेकी एक महिला कलाकारले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई आधार मानी प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । हालसम्म उनीविरुद्ध कुनै औपचारिक किटानी जाहेरी दर्ता नभएका कारण प्रहरीले उनलाई ’सार्वजनिक शान्ति विरुद्धको कसुर’ अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।
प्रहरी स्रोतका अनुसार, कुनै ठोस जाहेरी नहुँदा पनि सामाजिक सञ्जालको विवादले शान्ति सुरक्षामा खलल पुग्न सक्ने देखिएकाले सोही महल अन्तर्गत अनुसन्धान अगाडि बढाइएको हो ।
कलाकार बलेको पक्राउलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । प्रहरीले घटनाको गम्भीरतालाई हेर्दै थप प्रमाणहरू संकलन गरिरहेको जनाएको छ ।