काठमाडौं । हास्य कलाकार सागर लम्साल (बले) लाई चलचित्र ‘पाँच पाण्डव’ बाट निष्कासन गरिएको छ। एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएपछि निर्माण पक्षले उनलाई फिल्मबाट हटाउने निर्णय गरेको हो।
निर्माता कम्पनी कालीरानी फिल्म्सले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सागरसँगको सम्झौता रद्द गरिएको जानकारी दिएको छ। फिल्मको ९० प्रतिशत छायांकन सकिइसकेको अवस्थामा उनलाई हटाइएको हो। आरोपित कलाकारलाई फिल्ममा राखिरहँदा न्याय प्रक्रियामा असर पर्न सक्ने र चलचित्रको पवित्रतामा आँच आउने भन्दै निर्माण पक्षले अब उनका दृश्यहरू पुनः छायांकन (रि–सुट) गर्ने जनाएको छ।
बलेलाई किन फिल्मबाट निकाले पढ्नको लागि यो पढ्नुहोस ।
विज्ञप्तिमा भनिएको छ, “मुख्य कलाकार परिवर्तन गर्दा ठुलो आर्थिक क्षति हुने भए तापनि पीडितको न्यायका अगाडि यो क्षति गौण हो।“
वसन्त निरौलाको निर्देशनमा झापामा छायांकन भइरहेको यस फिल्ममा अब सागरको स्थानमा अर्को कलाकार लिइनेछ। फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, र आर्यन सिग्देल लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।
