काठमाडौँ । जेठ १ मा प्रदर्शन हुने चलचित्र ‘एक मुठ्ठी बादल’ ले आफ्नो पहिलो गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक गरेको छ। गीतमा आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारी फिचर्ड छन्। संगीत सुमित पाठकले गरेका छन् भने गीत हर्क साउदले रचना गरेका हुन्। मिना पोखरेल र इन्द्रकला राईको स्वरमा प्रस्तुत गीतले एकाघरमा बस्ने तीन पुस्ताका महिलाको भावनालाई समेटेको छ।
निर्देशक सहारा शर्माका अनुसार गीतमा चलचित्रको कथा झल्किन्छ र सबै पुस्ताका महिलाले भावनात्मक रूपमा आत्मसात् गर्न सक्ने शैलीमा तयार गरिएको छ। गीतको भिडियोमा विवाहअघि हुने रमाइलो र तयारीलाई देखाइएको छ। गीतको निर्देशन प्रतीक गुरुङले गरेका हुन् भने कोरियोग्राफी कृतिका बराल, छायाङ्कन निहाल भण्डारी, सम्पादन कृष्ण भण्डारीले गरेका छन्। चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरल प्रताप अधिकारी लगायत कलाकारको अभिनय छ। चलचित्र गौँथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेको हो र नेपालमा आरआर फिल्म्स मार्फत वितरण हुनेछ।