काठमाडौँ । बलिउडको बहुप्रतिक्षित स्पाइ–एक्सन फिल्म ‘धुरन्धरः द रिभेन्ज’ ले विश्वव्यापी बक्स राम्रो कलेक्शन गरेको छ । रिलिज भएको मात्र ११ दिनमा फिल्मले १,३६५ करोड भारु (करिब १४७.८ मिलियन अमेरिकी डलर) कमाइ गर्दै भारतीय सिनेमाको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ।
यो फिल्मले उत्तर अमेरिकामा एसएस राजामौलीको ब्लकबस्टर फिल्म ‘बाहुबली २ः द कन्क्लुजन’ को नौ वर्ष पुरानो रेकर्डलाई उछिनेको छ। ’बाहुबली २’ ले २०.२ मिलियन डलर कमाएको रेकर्ड राखेको थियो भने ‘धुरन्धर २’ ले २३ मिलियन डलर को आँकडा पार गर्दै नयाँ इतिहास रचेको हो। हिन्दी फिल्मका लागि उत्तर अमेरिकी बजारमा यो हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि मानिएको छ।
आदित्य धर निर्देशित यस सिक्वेलले पहिलो भागको लाइफटाइम कलेक्सनलाई समेत पछि पारेको छ। पहिलो ‘धुरन्धर’ ले विश्वभर कुल १४१.५ मिलियन डलर कमाएको थियो। सिक्वेलको यो आक्रामक कमाइले बलिउडमा ’धुरन्धर’ सिरिजको पकड झनै बलियो बनाएको छ।
फिल्मले भारतमा मात्र ११०.७ मिलियन डलर ग्रस कलेक्सन गरिसकेको छ।
अष्ट्रेलियामा ६ मिलियन अष्ट्रेलियन डलर (४.१ मिलियन अमेरिकी डलर), यूकेमा ४.४ मिलियन डलर (यहाँ शाहरुख खानको ‘पठान’ ५.६ मिलियन डलरसहित अझै शीर्ष स्थानमा छ), जर्मनीमा १ मिलियन डलरभन्दा बढी, कलेक्शन गरेको छ ।
फिल्मले पहिलो सप्ताहन्तमा १० मिलियन डलर र पाँच दिनको विस्तारित ओपनिङमा १४ मिलियन डलर कमाउँदै नयाँ मापदण्ड स्थापित गरेको थियो। यो खाडी मुलुक बाहेक करिब २,२०० सिनेमा हल र ३,००० स्क्रिन मा रिलिज भएको छ, जुन कुनै पनि हिन्दी फिल्मका लागि अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय रिलिज हो।
आदित्य धरले लेखन, निर्देशन र निर्माण गरेको यस फिल्ममा रणवीर सिंह दोहोरो भूमिकामा देखिएका छन्। फिल्ममा रणवीरका साथै आर माधवन, संजय दत्त, अर्जुन रामपाल र सारा अर्जुनको प्रभावशाली अभिनय रहेको छ। यो फिल्म हिन्दीसहित तेलुगु, तमिल, कन्नड र मलयालम गरी पाँच भाषामा प्रदर्शन भइरहेको छ।