काठमाडौं । यस वर्षको सफल चलचित्रमध्येको एक ‘आ बाट आमा’को दोस्रो भाग निर्माण हुने निश्चित भएको छ। आगामी वैशाखदेखि छायांकन सुरु हुन लागेको ‘आ बाट आमा २’ मा चकलेटी अभिनेता आकाश श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भएका छन्।
सोमबार निर्देशक चन्द्र पन्त र आकाशबीच फिल्मका लागि औपचारिक सम्झौता भएको हो। यसअघि नै पहिलो भागका मुख्य कलाकारहरू विपना थापा र पल शाह फिल्मका लागि फाइनल भइसकेका छन्। आकाशको प्रवेशसँगै फिल्मको स्टारकास्ट थप बलियो बनेको छ।
चन्द्र पन्त निर्देशक÷निर्माता रहेका फिल्मा कलाकारहरू विपना थापा, पल शाह, आकाश श्रेष्ठ (अन्य कलाकार छनोटको क्रममा) रहेको बताइएको छ ।
निर्देशक पन्तका अनुसार फिल्मको कथा र पात्रको माग बमोजिम नै आकाशलाई छनोट गरिएको हो। पहिलो भागमा पल शाहको जोडीको रूपमा देखिएकी उषा उप्रेती पनि दोस्रो भागमा दोहोरिन सक्ने सम्भावना रहेको फिल्म स्रोतले जनाएको छ।
‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँ भन्दा बढीको व्यापार गर्दै यस वर्षको दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको थियो। सोही सफलताका कारण दर्शकमाझ यसको दोस्रो भागप्रति निकै कौतुहलता र अपेक्षा बढेको छ।