काठमाडौँ । नेपाली चलचित्र ‘बा: एक योद्धाको छायाङ्कन सुरु भएको छ । गीतकारको रुपमा परिचित हरि लम्सालको निर्देशनमा फिल्म ‘बा: एक योद्धा’ को छायाङ्कन सुरु गरिएको हो । सोमबार काठमाडौँस्थित पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै छायांकन सुरु गरिएको छ । फिल्ममा निर्देशक लम्साल स्वयंको कथा तथा पटकथा लेखन रहेको छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो फिल्म सन्तानका लागि एक बाबुले गर्ने त्याग र सङ्घर्षको कथामा आधारित हुने निर्देशकले जनाएका छन् । फिल्ममा शिवराम श्रेष्ठको छायाकंन रहनेछ । उनले यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’ र ‘परान’ जस्ता सफल फिल्म खिचेका थिए । यसैले ‘बा: एक योद्धा’ दृश्यका हिसाबले उत्कृष्ट हुने अपेक्षा गरिएको छ ।
यस फिल्मका निर्माता वसन्त लम्साल हुन् । गायक तथा सङ्गीतकार समेत रहेका उनले गत वर्ष विपिन कार्की र उपासना सिंह ठकुरीलाई लिएर एक्सन फिल्म ‘कर्मा’ निर्माण गरेका थिए । तर, यो फिल्म व्यावसायिक रुपमा सफल हुन सकेन । उनले ‘बा ः एक योद्धा’को कथावस्तु एकदमै राम्रो लागेपछि लगानी गर्न तयार भएको बताएका छन् ।
दर्शकलाई ‘सरप्राइज’ दिने उद्देश्यले तत्काल कलाकारहरूको नाम सार्वजनिक नगरिएको निर्देशक लम्सालले बताए । उनका अनुसार फिल्मको छायाङ्कन सकिएपछि फस्टलुक पोस्टरमार्फत कलाकारहरू सार्वजनिक गरिनेछ ।