काठमाडौँ । षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ दर्शकबीच लोकप्रिय भएको छ। गत शुक्रबार, फागुन २९ मा सार्वजनिक भएको गीतलाई हालसम्म करिब १४ लाख दर्शकले युट्युबमा हेरिसकेका छन्।
गीतमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाको नृत्य विशेष रूपमा चर्चा भइरहेको छ। उनीहरूले गरेको स्टेप अहिले टिकटक, फेसबुक रील्समा प्रयोगकर्ता र कन्टेन्ट क्रिएटरबीच धेरै लोकप्रिय भएको छ। प्रयोगकर्ताहरूले नृत्य शैली, गायक–गायिकाको स्वर र लोकभाकाको प्रशंसा गरेका छन्। अभिनेत्री स्वस्तिमाले भनिन्, “समाइराले गज्जब नृत्य गरेकी छिन्, जसले मलाई पनि प्रेरणा दियो। हाम्रो मेहनतले गीत राम्रो बनेको छ र दर्शकको मायाले हामी उत्साहित भएका छौँ।
गीतको कोरियोग्राफी प्रदीप लामाले गरेका छन् भने स्वरमा दीपिका बयाम्बु मगर र खेम सेन्चुरी छन्। सङ्गीत खेम सेन्चुरीकै रहेको छ र शब्द रमेश बिजी ले लेखेका हुन्। फिल्म ‘लालीबजार’ को प्रदर्शन मिति विसं २०८३ वैशाख १८ तय गरिएको छ। फिल्ममा स्वस्तिमा खड्का, समाइरा थापा, रवीन्द्रसिंह बानियाँ लगायतका कलाकारको अभिनय छ। निर्देशक यम थापाले गीतलाई कथासँग जोडेर तयार गरिएको बताएका छन्।गीत र प्रदर्शन दुवैमा दर्शकको सकारात्मक प्रतिक्रिया र रुचि बढ्दै गएको बताइएको छ।