काठमाडौँ । नेपाली चलचित्र ‘पाँच पाण्डव’को छायांकन सुरु गरिएको छ । वसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्मको सोमबार झापाको काँकडभिट्टामा क्यामेरा र स्क्रिप्ट पूजा गरेर छायांकन सुरु गरिएको हो । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले)को मुख्य भूमिका रहनेछ ।
निर्देशक निरौलाले फिल्मको शीर्षक ‘पाँच पाण्डव’ भए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित नभएको बताएका छन् । उनका अनुसार यो पूर्ण रूपमा एक सामाजिक कथा हो । फिल्ममा महाभारतका पाँच पाण्डव (युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव)को बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको यथार्थ कथा भनिने उनले बताए ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुने यस फिल्ममा काली रानी श्रेष्ठ निर्मातामा छिन् । दीपाश्री निरौला र रजनी गुरुङको पनि अभिनय रहने फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले तयार पारेका हुन् । पेसाले सञ्चारकर्मी रहेका पौडेल फिल्म ‘प्रसाद’का लेखक समेत हुन् । श्याम तामाङले छायांकन गर्ने फिल्मलाई डल्बी एट्मस साउन्ड प्रविधिमा तयार पारिनेछ ।