काठमाडौँ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को टिजर सार्वजनिक गरिएको छ। आगामी वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शन हुने यस फिल्मले युवा पलायनका कारण खाली भएका पहाड र यसले सिर्जना गरेका सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरेको छ।
निर्देशक घिमिरेका अनुसार, “पहाड सुन्दर ठाउँ हो, तर पछिल्ला वर्षहरूमा युवा पलायनका कारण उजाड बनेको छ। यही विषयलाई समेट्दै फिल्मको कथा तयार गरिएको हो, जुन समग्र नेपालकै कथासँग जोडिएको छ। फिल्ममा मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, सुनिल थापा, विपीन कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरी लगायतका कलाकारको अभिनय रहेको छ। निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरे यस फिल्ममार्फत अभिनेत्रीको रूपमा परिचित हुँदैछिन् भने जेठी छोरी भावना घिमिरे प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हाल्नेछिन्।
छायाँकन प्रमोद प्रधान, संगीत रञ्जित सिंह गजमेर, द्वन्द्व निर्देशन कुमार महर्जन, नृत्य निर्देशन कविराज गहतराज र मिङमा डी लेप्चा, सम्पादन शङ्कर कोइराला र भारती घिमिरे ले गरेका छन्। फिल्म नेपालमा वैङ्कटेश इन्टरटेन्मेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनल फिल्म्स मार्फत वितरण हुनेछ। निर्देशक घिमिरेले भने,पुराना सहकार्यलाई ताजा गर्दै नयाँ उत्साहका साथ फिल्म तयार गरेका छौँ। यस पटक दर्शकसँगै यो फिल्म घर, परिवार र समाजसम्म विचारको रूपमा पुग्ने विश्वास छ।