काठमाडौं । प्रतिनिधिसभा निर्वाचनले प्रभावित बनेको चलचित्रको बजार लयमा फर्किने थालेको छ । शुक्रबारदेखि नेपाली फिल्म ‘लालिमा’ हलमा रिलिज भएको छ । रोशन मिराज निर्देशित यो फिल्म चुनावपछि प्रदर्शनमा आउने पहिलो हो । चुनावसहितका केही कारणले पछिल्लो समय हलमा दर्शकको संख्यामा गिरावट आइरहेको बेलामा ‘लालिमा’ सामु दर्शक फर्काउनुपर्ने चुनौती छ ।
‘लालिमा’ एक मार्मिक सामाजिक ड्रामा हो जसको कथावस्तुमा एक युवतीले शोषण, आघात र सामाजिक कलंकको सामना गर्छिन् । त्यसपछि उनी कठोर संसारमा आफ्नो मर्यादा र आशा पुनः प्राप्त गर्न संघर्ष गर्छिन् । ११७ मिनेट रनटाइमको यो फिल्मलाई पीजी सर्टिफिकेट प्राप्त छ । शीर्ष भूमिकामा रोश्नी कार्कीले अभिनय गरेकी छन् । उषा रजक, सुष्मा निरौला, जीवन भट्टराईको पनि अभिनय छ ।
महिला यौनकर्मीको संघर्ष र मनोविज्ञानको कथावस्तुमा आधारित फिल्मलाई यथार्थ घटनाहरूबाट प्रेरित फिल्म बताइएको छ । शुक्रबार बिहानी शो नभएको कारण हलले मध्यान्हदेखि मात्र शोज प्रदान गरेका थिए ।