काठमाडौँ । जुनैद खान र साई पल्लवी मुख्य भूमिकामा रेहेको फिल्म ‘एक दिन’को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । आमिर खान प्रोडक्सनले आगामी फिल्म फिल्ममा जुनैद खान र साई पल्लवी मुख्य भूमिकामा देखिएका छन् ।
ट्रेलरले दर्शकलाई एउटा शान्त र जादुयी प्रेम कथाको संसारमा लैजान्छ । ट्रेलरमा जुनैद खानले एक ’फच्र्युन बेल’ (भाग्यको घन्टी) को बारेमा बताउँदै उक्त घन्टी बजाउँदा साँचो प्रेम मिल्ने विश्वास व्यक्त गर्छन् ।
घन्टी बजाउँदै गर्दा उनले साई पल्लवीको पात्र ’मीरा’ तर्फ हेरेर उनी आफ्नी हुनुपर्ने कामना गर्छन् । जुनैदले आफूलाई कम्तिमा एकदिनका लागि भए पनि त्यो प्रेम मिलोस् भन्ने इच्छा राखेका देखिन्छन् ।
फिल्ममा जुनैद एक सोझा र लजालु युवकको भूमिकामा छन् । साई पल्लवी आत्मविश्वासले भरिएकी र शान्त पात्रको रूपमा देखिएकी छन् । दुई पात्रबीचको यो विरोधाभासले उनीहरूको केमेस्ट्रीलाई अझ रोचक र जीवन्त बनाएको छ । साई पल्लवीको यो पहिलो हिन्दी फिल्म हो ।
यस फिल्ममार्फत लामो समयपछि आमिर खान र फिल्म निर्माता मन्सूर खान पुनः सहकार्य गर्दैछन् । हिन्दी सिनेमामा यो जोडीलाई ’कयामत से कयामत तक’, ’जो जिता वही सिकन्दर’, ’अकेले हम अकेले तुम’ र ’जाने तू... या जाने ना’ जस्ता कालजयी फिल्मका लागि चिनिन्छ ।
सुनील पाण्डेद्वारा निर्देशित यस फिल्मका निर्माता आमिर खान, मन्सूर खान र अपर्णा पुरोहित हुन् । फिल्म १ मे २०२६ मा रिलिज हुँदैछ ।