काठमाडौँ । अटिजम सचेतनाको अभियन्ता कविता ढकाल मिसेस भोग नेपाल सिजन ३ मा प्रतियोगी नम्बर ५ का रूपमा सहभागी छिन्। सिन्धुलीको कमलामाई–१३ स्थायी घर भएकी ढकाल हाल काठमाडौंको टोखामा बसोबास गर्दै आएकी छन्।
सगुन ज्वेलर्सद्वारा आयोजना भइरहेको उक्त कार्यक्रममा कविता आफ्नो सामाजिक प्रतिबद्धता, बहुआयामिक प्रतिभा र आत्मविश्वासका कारण प्रतियोगिताका बलियो प्रतिस्पर्धी मानिन्छिन्।
उनले प्रतियोगितामा अटिजम भएका बालबालिकाको भविष्य सुरक्षित गर्न सरकारको ग्यारेन्टी, शिक्षा र समाजमा समान अवसरको आवश्यकता लगायतका विचार प्रस्तुत गरेकी छन्। सामाजिक क्षेत्रमा सक्रिय ढकाल अघिल्लो समय हाडिगाउँस्थित अभानी फाउन्डेशनमा प्रशासन प्रमुखको रूपमा काम गरिसकेकी छिन्। उनले व्यवस्थापन, अनुगमन र अभिभावक परामर्शमार्फत अटिजम भएका बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने काम गरेकी छन्।
व्यक्तिगत विकासमा पनि ढकाल सक्रिय छिन्। उनले होटल व्यवस्थापन तालिम, मेकअप आर्टिस्ट कोर्स र योग तालिम पूरा गरेकी छन्। दैनिक रूपमा योग, जुम्बा र जिममा अभ्यास गर्दै शारीरिक–मानसिक सन्तुलन कायम राख्ने बताएकी छन्।
कविताले भनिन्, “पारिवारिक, पेशागत र सामाजिक सेवाबीच सन्तुलन कायम गर्दै देखाएको आत्मविश्वास धेरै महिलाका लागि प्रेरणा बन्न सक्छ। सशक्तीकरण केवल शब्द होइन, निरन्तर प्रयास, सिकाइ र सेवा भावको अभ्यास हो।”
मिसेस भोग नेपाल सिजन ३ को फाइनल फागुन १२ गते ललितपुरको म्याजेस्टिक ग्राण्डमा हुने छ। ढकालले आफुलाई भोट गर्न ईसेवा एप वा मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भोट गर्न अपिल गरेकी छन् ।
