काठमाडौँ । विजय बराल अभिनित फिल्म ‘मालती मंगले’ आगामी बैशाख २५ गते प्रदर्शनमा आउने भएको छ । चर्चित गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्मको आज फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै पर्दशन मिति जानकारी गराएको हो । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य जोडी विजय बराल र वर्षा राउत प्रेमिल मुद्रामा देखिएका छन् । प्रकु पाण्डेयको निर्देशनमा बनेको यस फिल्ममा विजय र वर्षासहित मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेबको छ । फिल्ममा निर्देशक पाण्डेय स्वयंको कथा छ भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् ।
रानी फिल्म्स र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस फिल्मको कार्यकारी निर्मातामा सागर ज्ञवाली रहेका छन् । बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत सह–निर्माता रहेको फिल्ममा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, डिकेश खड्गीको ध्वनि मिश्रण तथा कृष्ण भण्डारीको रंग संयोजन छ ।