काठमाडौं । चलचित्र ‘आ बाट आमा’ ले विश्वव्यापी साढे ८ करोड माथिको कमाई गरेको छ। गत माघ १६ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रले अहिलेसम्म ८ करोड ७२ लाखको ग्रस कलेक्सन गरेको हो। पहिलो साताभन्दा दोस्रो साता चलचित्रले व्यापारमा छलाङ मारेको निर्देशक चन्द्र पन्तको भनाई छ। पन्त भन्छन्,‘दर्शकको माया अत्यधिक पाइरहेका छौँ। देशभरका अधिकांश हलमा दर्शकको साथ छ। चलचित्रको कमाई अझै बढ्दै छ। भोली शनिवार अझै दर्शक बढ्ने देखिन्छ।’ चलचित्रले आमा–बुवा र छोराबीचको सम्बन्ध र वैदेशिक रोजगारीको कथा भन्छ। रोजगारीको खोजीमा विदेश पुगेको एक युवाको कथा भएकाले पनि धेरै दर्शकले चलचित्रलाई रिलेट गर्न सकेको पन्त बताउँछन् ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा निर्देशक पन्तकै कथा तथा पटकथा छ। चलचित्रमा विपना थापा, पल शाह, भारतीय अभिनेता प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित बिष्ट, बेगम नेपाली, रचना गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना निर्माता रहेको यो चलचित्रको कार्यकारी निर्माता करण सिंह रसाली हुन्।