काठमाडौँ । कैलालीमा एक टेम्पो भीरबाट खसालिएको घटनाप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक भिडियोप्रति ध्यानाकर्षण गराउँदै वन प्रहरीको उपस्थितिमा एक गरिब टेम्पो चालकको सवारीसाधन भीरबाट खसालिएको दृश्यले आफूहरू मर्माहत भएको बताए। उनले घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति दिन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। साम्पाङले सोही बैठकमा घरको छानामाथि ढुंगा हानेको अर्को दृश्यप्रति पनि चिन्ता व्यक्त गर्दै पछिल्लो समय प्रहरी व्यवहारप्रति गम्भीर प्रश्न उठेको बताए। उनका अनुसार नागरिकले प्रहरी देख्दा सुरक्षा र संरक्षणको अनुभूति गर्नुपर्ने भए पनि केही घटनाले डर र त्रासको वातावरण सिर्जना गरेको छ। उनले यस्तो अवस्थालाई तुरुन्त सच्याउन सरकारलाई आग्रह गरेका छन्।