काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० ले ९७१ विद्यार्थीको उत्तरपुस्तिका हराएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ।
उपनियन्त्रक तारानाथ निरौलाले एसईई पुनर्योग (रिटोटलिङ)को नतिजा समेत प्रकाशित भइसकेको जानकारी दिँदै उत्तरपुस्तिका हराएको भन्ने दाबी भ्रमपूर्ण भएको बताए। उनका अनुसार परीक्षा केन्द्रहरूबाट आएका उत्तरपुस्तिकाका पोकाहरूमा केही निवेदन दिएका विद्यार्थीका कापी अन्य समूहसँग मिसिन सक्ने भएकाले खोजीमा समय लाग्ने भए पनि यसलाई हराएको भन्न नमिल्ने स्पष्ट पारे। बोर्डले हालसम्म अधिकांश रिटोटलिङ नतिजा प्रकाशित गरिसकेको र बाँकी केही विद्यार्थीको नतिजा पनि छिट्टै सार्वजनिक गरिने जनाएको छ। यसैबीच, नतिजा पुनरावलोकनपछि केही विद्यार्थीको ग्रेडमा सुधार देखिएको र मूल्यांकन प्रक्रियामा केही प्राविधिक त्रुटि भएको बोर्डले स्वीकार गरेको छ।