काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आसिका तामाङले नेपालको सीमा सुरक्षा र सीमा विवादबारे सरकारको ध्यानाकर्षण गराउँदै सीमावर्ती क्षेत्रमा आवश्यक परे काँडेतारबार लगाउनुपर्ने सुझाव दिएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुस्ता क्षेत्रमा देखिएको पछिल्लो घटनाबारे स्पष्ट जानकारी दिन सरकारसँग माग गरिन्। सुस्ताको समस्या लामो समयदेखि समाधान हुन नसकेको विषय भएको उल्लेख गर्दै उनले गण्डकी नदीको धार परिवर्तनका कारण धेरै जमिन विवादित बनेको बताइन्। उनले भारतीय सशस्त्र सीमा बल (एसएसबी)का गतिविधि र स्थानीय नागरिकलाई धम्क्याएको भन्ने समाचारप्रति सरकारको स्पष्ट धारणा माग गर्दै घटनाको वास्तविकता सार्वजनिक गर्न आग्रह गरिन्। सांसद तामाङले लिपुलेक, कालापानी र लिम्पियाधुरा जस्ता क्षेत्र नेपालको भौगोलिक अखण्डतासँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएको बताउँदै सीमा सुरक्षा राज्यको प्रमुख दायित्व भएको उल्लेख गरिन्। उनका अनुसार सीमा सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक परे नेपाल–भारत सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतारबार लगाउने विकल्पसमेत विचार गर्नुपर्ने हुन्छ।