काठमाडौं । कम्प्युटर विज्ञान पदको परीक्षा सम्बन्धी विवाद थप चर्किँदै उग्र रूप लिएको छ। कम्प्युटर साइन्स अल्मुनाइ एसोसिएसन तथा स्टुडेन्ट एसोसिएसन अफ कम्प्युटर साइन्स (SACS) ले त्रिभुवन विश्वविद्यालय सेवा आयोग (TUSC) र केन्द्रीय कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभाग (CDCSIT) मा तालाबन्दी गरेका छन्।
आगामी पुस १५ गतेका लागि तय गरिएको कम्प्युटर विज्ञान पदको प्रथम पत्र परीक्षा स्थगित गर्नुपर्ने मागसहित सुरु गरिएको आन्दोलनले अब शैक्षिक गतिविधिमा समेत असर पारेको छ। आन्दोलनको क्रममा त्रिवि सेवा आयोग पदाधिकारी, डिन कार्यालय र CDCSIT बीचको मिलेमतोमा CSIT र IT विषयलाई प्रत्यक्ष तथा दूरगामी असर पर्ने गरी गलत र असम्पूर्ण निर्णय गरिएको आरोप लगाइएको छ।
यसैबीच कम्प्युटर साइन्स अल्मुनाइ एसोसिएसनले अत्यन्त जरुरी सूचना जारी गर्दै मिति २०८१ पुस १४ र १५ गतेका दिन CSIT र IT कक्षाहरूको पठन–पाठन पूर्ण रूपमा बन्द गर्न सम्पूर्ण क्याम्पस प्रमुख, प्राध्यापक तथा विद्यार्थीहरूलाई हार्दिक अपिल गरेको छ।
-1766939670.jpeg)
एसोसिएसनले सेवा आयोगद्वारा प्रकाशित विज्ञापन नं. ११८५/२०८१–८२ अन्तर्गत यसअघि नै अयोग्य ठहर भई नामावलीबाट हटाइएका तथा विषय र योग्यता नमिल्ने उम्मेदवारहरूलाई पुनः योग्य घोषणा गरी थप नामावलीमार्फत सार्वजनिक गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ।
जारी विज्ञप्तिमा भनिएको छ, “यस प्रकारको निर्णयले परीक्षा प्रणालीको पारदर्शिता, निष्पक्षता र मेरिट प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।” नियम, मापदण्ड र विषय समितिको निर्णयविपरीत नामावली संशोधन गरिएको दाबी गर्दै तत्काल सुधारको माग गरिएको छ।
आन्दोलनकारी पक्षले सबै उम्मेदवारहरूको शैक्षिक योग्यता CSIT विद्यार्थी प्रतिनिधिको उपस्थितिमा जाँच तथा प्रमाणीकरण गर्नुपर्ने, विषय समितिको निर्णयअनुसार अयोग्य उम्मेदवारलाई नामावलीबाट हटाउनुपर्ने तथा नियमअनुसार नयाँ, पारदर्शी र निष्पक्ष नामावली पुनः प्रकाशन गरिनुपर्ने माग अघि सारेका छन्।
मागहरू तत्काल सम्बोधन नगरिए आन्दोलन थप कडा बनाइने चेतावनी दिँदै, त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने पनि आन्दोलनकारीहरूले स्पष्ट पारेका छन्।
