काठमाडौँ । आजको डिजिटल युगमा बिहान आँखै खुल्नेबित्तिकै मोबाइल फोन हेर्ने बानी धेरैको दैनिकी बनेको छ। अलार्म बन्द गर्नेदेखि सामाजिक सञ्जाल, समाचार, सन्देश जाँच्नेसम्मको यो आदतले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने चिकित्सक तथा स्वास्थ्य विज्ञहरूले बताएका छन्।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिहान उठ्नेबित्तिकै मोबाइल स्क्रिनमा केन्द्रित हुँदा आँखामा बढी चाप पर्नुका साथै टाउको दुख्ने, दृष्टि कमजोर हुने र आँखामा सुख्खापनको समस्या देखिन सक्छ। लामो समयसम्म यसो भइरहँदा आँखासम्बन्धी गम्भीर समस्या उत्पन्न हुने जोखिम बढ्ने उनीहरूको भनाइ छ। त्यसैगरी, बिहानै सामाजिक सञ्जाल, समाचार वा कामसम्बन्धी सन्देशहरू हेर्दा मानसिक तनाव बढ्ने, चिन्ता हुने र दिनभरि नै मन अशान्त रहने सम्भावना पनि उच्च हुन्छ।
मनोविज्ञहरू भन्छन्–“बिहानको पहिलो घण्टा मानसिक सन्तुलनका लागि अत्यन्त महत्वपूर्ण समय हो। यही समयमा नकारात्मक सूचना वा डिजिटल दबाब परेमा त्यसको असर दिनभरि रहन सक्छ।” मोबाइलको अत्यधिक प्रयोगले शरीरको जैविक घडी बायोलोजिकल क्लकमा असर पार्ने पनि विज्ञहरूको चेतावनी छ। बिहान घामको प्रकाशमा ननिस्की मोबाइल स्क्रिनमै समय बिताउँदा निद्रा चक्र बिग्रनुका साथै थकान, एकाग्रता कमी र कार्यक्षमता घट्ने समस्या देखिन सक्छ।
स्वास्थ्य विज्ञहरूले बिहान उठेपछि कम्तीमा ३० मिनेट मोबाइल नहेर्न, गहिरो सास–प्रश्वास गर्ने, हल्का व्यायाम गर्ने, पानी पिउने तथा प्राकृतिक उज्यालोमा केही समय बिताउन सुझाव दिएका छन्। यसो गर्दा मानसिक ताजगी बढ्ने र दिनभरि ऊर्जावान महसुस हुने उनीहरूको भनाइ छ। डिजिटल प्रविधि जीवन सहज बनाउने साधन भए पनि यसको प्रयोगमा सन्तुलन आवश्यक रहेको विज्ञहरूको जोड छ। बिहान उठ्नेबित्तिकै मोबाइल फोन हेर्ने बानी परिवर्तन गर्न सके मानिसको स्वास्थ्य र जीवनशैलीमा सकारात्मक सुधार आउने विश्वास लिइएको छ।