काठमाडौँ । जाडो मौसम सुरु भएसँगै शरीरलाई न्यानो राख्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र ऊर्जाको आवश्यकता पूरा गर्ने खानाको महत्व बढ्छ। चिकित्सक तथा पोषणविद्हरूका अनुसार चिसो समयमा सही खानपानले रुघाखोकी, फ्लु, जोर्नी दुखाइ तथा कमजोर प्रतिरक्षाजस्ता समस्याबाट जोगिन सहयोग पुर्याउँछ। तसर्थ हामिले जाडो मौसममा केकस्तो खाना खान उपयुत्त हुन्छ ।
तातो र ऊर्जायुक्त खानाः चिसो मौसममा शरीरले तापक्रम सन्तुलनका लागि बढी ऊर्जा खर्च गर्ने भएकाले कार्बोहाइड्रेट र प्रोटिनयुक्त खाना आवश्यक पर्छ। भात, ढिँडो, रोटी, आलु, सख्खरखण्डजस्ता खाना शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्ने स्रोत हुन्। दाल, गेडागुडी, अण्डा, मासु र दूधजन्य पदार्थले शरीरलाई बलियो बनाउने प्रोटिन आपूर्ति गर्दछ।
सागसब्जी र फलफूलः जाडो मौसममा पाइने सागसब्जी—जस्तै रायोको साग, पालुंगो, काउली, बन्दा, मुला—भिटामिन, खनिज र फाइबरको राम्रो स्रोत हुन्। यीले पाचन प्रणालीलाई सक्रिय राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछन्। स्याउ, सुन्तला, अम्बा र कागतीजस्ता फलफूलमा पाइने भिटामिन ‘सी’ ले रुघाखोकी र संक्रमणबाट जोगिन मद्दत गर्छ।
तातो पेय पदार्थः चिसो समयमा तातो पानी, झोल, सुप र जडीबुटीजन्य चिया अदुवा, बेसार, तुलसी मिसिएको उपयोगी मानिन्छ। यी पेय पदार्थले शरीरलाई न्यानो राख्नुका साथै घाँटीको समस्या र जाडोमा देखिने संक्रमणको जोखिम कम गर्न सहयोग पुर्याउँछ ।
बोसोयुक्त तर सन्तुलित खानाः घ्यू, तोरीको तेल, बदाम, ओखरजस्ता स्वस्थ बोसोयुक्त खाद्यपदार्थले शरीरलाई अतिरिक्त ऊर्जा र ताप प्रदान गर्छ। तर अत्यधिक बोसोयुक्त वा तारेका खाना धेरै सेवन गर्दा मोटोपन र मुटुसम्बन्धी समस्या बढ्न सक्ने भएकाले सन्तुलन आवश्यक हुन्छ।
पानीको पर्याप्त सेवनः जाडो मौसममा तिर्खा कम लागे पनि शरीरलाई आवश्यक पानीको मात्रा घट्नु हुँदैन। पर्याप्त पानी सेवनले छाला सुख्खा हुनबाट जोगाउनुका साथै शरीरको समग्र कार्यप्रणालीलाई सहज बनाउँछ।
विशेषज्ञहरूका अनुसार चिसो मौसममा तातो, पोषणयुक्त र सन्तुलित खाना खानु स्वास्थ्यका लागि आवश्यक हुन्छ। स्थानीय रूपमा उपलब्ध सागसब्जी, फलफूल र परम्परागत खानालाई प्राथमिकता दिँदा शरीर न्यानो राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सकिन्छ।