काठमाडौँ । घरको किचेन भान्सा केवल खाना पकाउने स्थान मात्र होइन, परिवारको स्वास्थ्य, उज्यालो भविष्य र समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण अंग हो। वास्तुशास्त्र अनुसार किचेनको सही दिशा, बनावट र व्यवस्थापन नमिलेमा आर्थिक समस्या, स्वास्थ्यमा असर तथा पारिवारिक अशान्ति बढ्न सक्ने विश्वास गरिन्छ। त्यसैले किचेन निर्माण गर्दा र सजावट गर्दा केही महत्वपूर्ण वास्तु नियमहरूको पालना गर्नु आवश्यक मानिन्छ।
किचेनको उत्तम दिशाः वास्तुशास्त्र अनुसार किचेनका लागि अग्निको दिशा अर्थात् दक्षिण–पूर्व सबैभन्दा उत्तम मानिन्छ। यदि यो सम्भव नभए उत्तर–पश्चिमनि विकल्प हुन सक्छ। उत्तर–पूर्व वा मध्य भागमा किचेन बनाउनु अशुभ मानिन्छ।
चुलो (ग्यास) राख्ने स्थानः चुलो सधैँ दक्षिण–पूर्व कुनामा राख्नुपर्छ। खाना पकाउँदा पूर्वतर्फ मुख गरेर पकाउनु शुभ मानिन्छ। चुलो र सिंक पानी एक–अर्कासँग धेरै नजिक राख्नु हुँदैन, किनकि आगो र पानीको एकैठाउँमा पर्नाले नकारात्मक ऊर्जा बढाउँछ।
पानी र सिंकको दिशाः सिंक, फिल्टर वा पानीसँग सम्बन्धित सामान उत्तर–पूर्व वा उत्तर दिशामा राख्नु उत्तम हुन्छ। पानी टप्किरहने नल वास्तु दोषको संकेत मानिन्छ, त्यसैले तुरुन्त मर्मत गर्नुपर्छ।
किचेनको रङ कस्तो राख्ने: वास्तुशास्त्र अनुसार किचेनमा हल्का र चम्किला रङ प्रयोग गर्नुपर्छ। हल्का पहेँलो,क्रीम,हल्का हरियो, सुन्तला जस्ता रङ प्रयोग गर्नु उचित हुन्छ । कालो, गाढा निलो वा गाढा खैरो रङ धेरै प्रयोग गर्नु वास्तु अनुसार अशुभ मानिन्छ।
भान्साका सामान कसरी राख्ने: भारी भाँडाकुँडा, फ्रिज, भाडा राख्ने दराज आदि दक्षिण वा पश्चिम दिशामा राख्नुपर्छ। अन्न दाल, चामल जस्ता खाद्य सामग्री सफा र बन्द कन्टेनरमा राख्नु शुभ मानिन्छ। फुटेका भाँडा, बिग्रिएका उपकरण तुरुन्त हटाउनुपर्छ, नत्र नकारात्मक ऊर्जा बढ्ने विश्वास छ।
किचेनमा के नगर्नु राम्रोः किचेनमा फोहोर थुपारेर राख्नु हुँदैन। चुलो ठीक अगाडि वा माथि झ्याल राख्नु उपयुक्त मानिँदैन किचेनमा पूजा स्थान राख्नु वास्तु अनुसार अशुभ मानिन्छ।
वास्तुशास्त्र अनुसार किचेनको सही दिशा, सजावट र व्यवस्थापन मिलाउँदा घरमा स्वास्थ्य, शान्ति र आर्थिक स्थायित्व बढ्ने विश्वास गरिन्छ। आधुनिक डिजाइनसँगै वास्तुका आधारभूत नियम पालना गर्न सके किचेन मात्र होइन, समग्र घर सकारात्मक ऊर्जाले भरिने वास्तुविद्हरू बताउँछन्।