काठमाडौँ । धरैजसो विद्यार्थी, शिक्षक र अध्ययन विज्ञहरूले विहानीको समयलाई अध्ययनका लागि सबैभन्दा उपयुक्त मान्ने गर्छन्। बिहानीमा पढ्दा दिमागमा कुरा छिटो बस्ने, स्मरणशक्ति बलियो हुने र एकाग्रता उच्च रहने अनुभव धेरैले गरेका छन्। आखिर किन बिहानीको पढाइ प्रभावकारी हुन्छ त यसका पछाडि वैज्ञानिक र व्यवहारिक दुवै कारण रहेको विज्ञहरू बताउँछन्।
दिमाग ताजा र शान्तः निद्रापछि बिहानीमा उठ्दा दिमाग पूर्ण रूपमा आराम गरेको अवस्थामा हुन्छ। रातको निद्राले मस्तिष्कलाई सूचना क्रमबद्ध गर्न र स्मरणशक्ति मजबुत बनाउन मद्दत गर्छ। त्यसैले विहानीमा नयाँ विषय पढ्दा दिमागले छिटो ग्रहण गर्ने गर्छ।
शान्त वातावरणः बिहानीको समय प्रायः शान्त हुन्छ। बाहिरी हल्ला, मोबाइल फोन, सामाजिक सञ्जालजस्ता ध्यान भंग गर्ने तत्व कम हुन्छन्। यस्तो शान्त वातावरणमा पढ्दा एकाग्रता स्वाभाविक रूपमा बढ्ने शिक्षा विज्ञहरूको भनाइ छ।
हर्मोनको सकारात्मक प्रभावः स्वास्थ्य विज्ञका अनुसार बिहानीमा ‘कोर्टिसोल’ नामक हर्मोन सन्तुलित मात्रामा सक्रिय हुन्छ, जसले सतर्कता र ध्यान केन्द्रित गर्न सहयोग पुर्याउँछ। यही कारण विहानीको समयमा दिमाग बढी सक्रिय र सजग हुन्छ।
अनुशासन र आत्मविश्वासः बिहानीमा नियमित रूपमा पढ्ने बानीले समय व्यवस्थापन र अनुशासन विकास हुन्छ। दिनको सुरुवातमै पढाइ सम्पन्न हुँदा आत्मविश्वास बढ्ने र बाँकी समय अन्य कामका लागि सहज हुने विद्यार्थीहरू बताउँछन्।
स्वास्थ्यमा पनि फाइदाः बिहानीमा चाँडै उठेर पढ्ने बानीले निद्राको तालिका व्यवस्थित हुन्छ, जसले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। तनाव कम हुने र पढाइप्रति रुचि बढ्ने पनि देखिएको छ। विहानीको पढाइ केवल बानी मात्र होइन, यो वैज्ञानिक रूपमा पनि प्रभावकारी अभ्यास हो। शान्त वातावरण, ताजा दिमाग र सकारात्मक शारीरिक प्रक्रियाले गर्दा विहानीमा पढ्दा ज्ञान दीर्घकालसम्म स्मरण रहन्छ। त्यसैले सफल अध्ययन चाहने विद्यार्थीहरूका लागि विहानीको समय सदुपयोग गर्नु बुद्धिमानी कदम हुन सक्छ।