काठमाडौँ । हलिउड निर्देशक रोब राइनर र उनकी पत्नी मिशेल राइनरको हत्या प्रकरणमा उनीहरूकै छोरा निक राइनरविरुद्ध अभियोग दर्ता गरिएको छ। लस एन्जलसका अभियोजकहरूले ३२ वर्षीय निक राइनरमाथि पहिलो दर्जाको हत्या अभियोग लगाएका हुन्।
जिल्ला अभियोजक नाथन होचम्यानका अनुसार निक राइनरमाथि ‘बहु–हत्या’ भएको विशेष परिस्थितिसहित दुईवटा पहिलो दर्जाको हत्या अभियोग लगाइएको छ। अभियोग प्रमाणित भएमा उनलाई आजीवन कारावास प्यारोलको सम्भावना बिना वा मृत्युदण्डसमेत हुन सक्ने बताइएको छ। अभियोजक होचम्यानले निक राइनरलाई जेल अधिकारीबाट चिकित्सकीय रूपमा योग्य ठहर भएपछि अदालतमा उपस्थित गराई औपचारिक अभियोग सुनाउने र बयान प्लिया लिने जानकारी दिए।
यो अभियोग क्यालिफोर्नियाको ब्रेन्टवुडस्थित आफ्नै घरमा रोब राइनर र उनकी पत्नी मिशेल राइनर मृत अवस्थामा फेला परेको दुई दिनपछि दर्ता गरिएको हो। दुवैको शरीरमा चक्कु प्रहारका धेरै चोटहरू भेटिएको प्रहरीले जनाएको छ। अभियोगपत्रमा निक राइनरले हत्या गर्न चक्कु प्रयोग गरेको विशेष आरोप पनि समावेश गरिएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा अभियोजक होचम्यानले मृत्युदण्ड माग गर्ने वा नगर्नेबारे हालसम्म कुनै निर्णय नभएको बताए।
निक राइनर मंगलबार नै अदालतमा उपस्थित गराइने तयारी भए पनि पछि उक्त सुनुवाइ मिति सारिएको जिल्ला अभियोजक कार्यालयले जनाएको छ। रोब राइनर ‘दिस इज स्पाइनल ट्याप’, ‘मिजरी’ र ‘अ फ्यु गुड मेन’ जस्ता चर्चित चलचित्रका निर्देशक हुन्। उनकी पत्नी मिशेल सिंगर राइनर अभिनेत्री, फोटोग्राफर तथा निर्माता थिइन्। उनी ‘राइनर लाइट’ नामक फोटोग्राफी एजेन्सी तथा प्रोडक्सन कम्पनीकी संस्थापक पनि हुन्। लस एन्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलले पत्रकार सम्मेलनमा भने, “यो घटना अत्यन्तै दुःखद र व्यक्तिगत प्रकृतिको छ।
यसले राइनर परिवार मात्र होइन, सम्पूर्ण सहरलाई नै मर्माहत बनाएको छ।” उनले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरे। हत्या प्रयोजनमा प्रयोग भएको हतियार बरामद भएको छ कि छैन भन्ने प्रश्नमा अभियोजक होचम्यानले उक्त विषय अदालतमा खुल्ने बताए अधिकारीहरूका अनुसार पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको ठ्याक्कै कारण, तरिका र समय निर्धारण हुनेछ।