काठमाडौँ । विश्व विज्ञान इतिहासमा महिलाले बनाएको सबैभन्दा उज्यालो पहिचानमध्ये एक नाम हो–म्याडम क्यूरी। रेडियोधर्मिता क्षेत्रमा क्रान्तिकारी योगदान पुर्याएकी क्यूरी पहिलो महिला नोबेल पुरस्कार विजेता मात्र होइनन्, दुई फरक–फरक वैज्ञानिक विधामा नोबेल जित्ने एकमात्र व्यक्ति पनि हुन्।
सन् १८६७ नोभेम्बर ७ मा पोल्याण्डको वारसामा जन्मिएकी म्याडम क्यूरीको वास्तविक नाम मारिया स्क्लोडोव्स्का क्यूरी हो। कठिन आर्थिक अवस्था र सामाजिक बाधाबीच शिक्षा हासिल गरेकी उनी अध्ययनकै क्रममा फ्रान्स पुगिन्। पेरिसको सोर्बोन विश्वविद्यालयबाट भौतिकशास्त्र र गणितमा उच्च शिक्षा लिएकी क्यूरीले पछि फ्रान्सेली वैज्ञानिक पियरे क्यूरीसँग विवाह गरिन्।
रेडियोधर्मितामा ऐतिहासिक खोजः म्याडम क्यूरीले युरेनियमका किरणहरूबारे अध्ययन गर्दै ‘रेडियोधर्मिता’ भन्ने शब्द पहिलोपटक प्रयोगमा ल्याइन्। उनले र पियरे क्यूरीले संयुक्त रूपमा पोलोनियम र रेडियम नामका दुई नयाँ तत्त्व पत्ता लगाए, जसले चिकित्सा, ऊर्जा र विज्ञानका अन्य क्षेत्रमा नयाँ ढोका खोले उनको यही योगदानका लागि सन् १९०३ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्रदान गरियो। पछि सन् १९११ मा रसायनशास्त्रतर्फ फेरि नोबेल जितेर उनले इतिहास रचेकी हुन्।
विज्ञान र मानव सेवामा योगदानः पहिलो विश्वयुद्धका बेला म्याडम क्यूरीले एक्स–रे मेसिनको प्रयोग गरेर घाइते सैनिकहरूको उपचारमा ठूलो सहयोग पुर्याइन्। उनी विज्ञानलाई प्रयोगशालामै सीमित नराखी मानव सेवासँग जोड्न सफल भइन्।
जोखिम र बलिदानः रेडियोधर्मी पदार्थसँग लामो समयसम्म काम गर्दा त्यसको खतराबारे त्यति जानकारी नभएकाले म्याडम क्यूरी स्वयं स्वास्थ्य समस्याबाट ग्रस्त भइन्। अन्ततः सन् १९३४ मा रेडिएसनका कारण भएको रोगबाट उनको निधन भयो। तर उनको बलिदानले विज्ञानलाई अमूल्य ज्ञान दिएर गयो।
प्रेरणाको स्रोतः आज म्याडम क्यूरी महिला सशक्तीकरण, विज्ञानप्रतिको समर्पण र कठिन परिस्थितिमा पनि लक्ष्य नछोड्ने दृढताको प्रतीक मानिन्छिन्। विज्ञान क्षेत्रमा महिलाको सहभागिता बढाउन उनका योगदान अझै प्रेरणादायी छन्। विज्ञानको इतिहासमा अमिट छाप छोडेकी म्याडम क्यूरीको जीवनले आज पनि नयाँ पुस्तालाई अनुसन्धान, नवप्रवर्तन र मानव सेवातर्फ उन्मुख गराइरहेको छ।