काठमाडौँ । अमेरिकाको प्रतिष्ठित ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डमा दुई विद्यार्थीको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन्। घटनापछि आक्रमणकारीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
शनिबार स्थानीय समय अनुसार दिउँसो करिब ४ बजे परीक्षा सञ्चालन भइरहेका बेला एक बन्दुकधारीले कक्षाकोठाभित्र प्रवेश गरी अन्धाधुन्ध गोली चलाएको थियो। घटनापछि सम्पूर्ण क्याम्पस ‘लकडाउन’ गरिएको छ। रोड आइल्यान्ड अस्पतालका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर तर स्थिर रहेको छ। मृतक र घाइतेको पहिचान सार्वजनिक गरिएको छैन। क्याम्पसका केही क्षेत्रमा विद्यार्थीहरूलाई ‘शेल्टर इन प्लेस’ अर्थात् जहाँ छन् त्यहीँ बस्न निर्देशन दिइएको छ।
ब्राउन विश्वविद्यालयकी अध्यक्ष क्रिस्टिना प्याक्सनले घटनालाई अत्यन्तै पीडादायी भन्दै समुदाय शोकमा रहेको बताएकी छन्। प्रहरीले आक्रमणकारी कालो लुगा लगाएको र मास्क लगाएको हुन सक्ने जनाएको छ। सीसीटीभीमा देखिए पनि उसको पहिचान खुलेको छैन र प्रयोग गरिएको हतियार पनि फेला परेको छैन। घटना इन्जिनियरिङ स्कुलअन्तर्गत पर्ने बारस एण्ड होली भवनमा भएको हो। परीक्षा रद्द गरिएको छ भने विश्वविद्यालय आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। यस घटनासँगै सन् २०२५ मा अमेरिकामा भएका सामूहिक गोलीकाण्डको संख्या ३८९ पुगेको छ।