काठमाडौँ । सत्यवती गाउँपालिका–५ हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसको शैक्षिक विकासका लागि आयोजना गरिएको श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञबाट रु. ३ करोड १५ लाखभन्दा बढी नगद संकलन भएको छ। मङ्सिर १८ देखि २५ गतेसम्म सञ्चालन भएको महायज्ञको उद्देश्य क्याम्पसका लागि रु. ३ करोडको अक्षय कोष स्थापना गर्नु रहेको थियो ।
नगदसँगै ७०० मुरी धान र ३० क्विन्टल चामल पनि संकलन भएको आर्थिक समिति संयोजक पारिश्वर ढकालले जानकारी दिए। सबैभन्दा ठूलो आर्थिक सहयोग रु. १६ लाख ५० हजार बेलायत निवासी व्यवसायी काशिराम भण्डारीले प्रदान गरेका छन्। उनले क्याम्पस परिसरमा निर्माण हुन लागेको सरस्वती मन्दिरका लागि थप रु. १ लाख सहयोग गर्ने घोषणा पनि गरेका छन्। यसैगरी, अन्य दाताहरूले ५ लाखदेखि १० लाखसम्मका सहयोग गरे। त्रिभुवन विश्वविद्यालयबाट २०७० मा मान्यता प्राप्त क्याम्पसका मानविकी तथा व्यवस्थापन संकाय सञ्चालनमा आर्थिक चुनौती बढेपछि महायज्ञमार्फत कोष संकलन गरिएको मूल समारोह समितिले जनाएको छ। महायज्ञको खर्च कटाएर बाँकी रकम अक्षय कोषमा राखी क्याम्पस सञ्चालनमा उपयोग गरिने बताइएको छ। महायज्ञमा स्वामी ज्ञानानन्द सरस्वती, स्वामी विवेकानन्द सरस्वती र आचार्य नारायणप्रसाद गैरेले कथा प्रवचन गरेका थिए।