काठमाडौँ । आँखालाई सधैँ तन्दुरुस्त र तेज राख्न स्वास्थ्य विज्ञहरू केही आधारभूत बानीलाई अनिवार्य मान्छन्। नियमित हेरचाह र सही जीवनशैली अपनाइए दृष्टि दीर्घकालसम्म स्थिर रहने वैज्ञानिकहरू बताउँछन्। स्वास्थ्यकर्मीका अनुसार सन्तुलित आहार आँखाको उज्यालोपनका लागि पहिलो आधार हो।
आँखालाई लेज राख्नका लागी गाजर, पालुंगो, कागती वर्गका फलफूल तथा ओमेगा–३ युक्त खानाले रेटिनालाई बलियो बनाउँदै भविष्यमा देखा पर्न सक्ने मोतियाबिन्दु र अन्य आँखासम्बन्धी रोगको जोखिम घटाउँछ। यस्तै, पछिल्लो समय बढ्दो स्क्रिन प्रयोगले आँखामा थप दबाब दिन थालेपछि विज्ञहरूले प्रत्येक २० मिनेटमा २० फिट टाढा रहेको वस्तु २० सेकेन्ड हेर्दा आँखाका मांसपेशी रिल्याक्स हुने र डिजिटल आइ स्ट्रेन कम हुने विशेषज्ञहरूको भनाइ छ।
आँखामा नमी कायम राख्न पर्याप्त पानी पिउने, धुलो–धुवाँ र तेज घामबाट जोगिन सनग्लास प्रयोग गर्ने, र दैनिक रूपमा ६ देखी ८ घण्टा पर्याप्त निद्रा लिने बानीले पनि आँखाको प्राकृतिक शक्ति जोगाइराख्ने चिकित्सकहरू बताउँछन्। त्यसैगरी, आँखामा कुनै समस्या देखिए तत्कालै स्व–औषधि प्रयोग नगर्न र वर्षमा कम्तीमा एकपटक नेत्र परीक्षण गराउनुपर्ने सुझाव विज्ञहरूको छ। समयमै गरिएको जाँचले दृष्टि कमजोर पार्ने रोगहरू प्रारम्भिक चरणमै पहिचान गर्न सकिने बताइन्छ। स्वास्थ्य विशेषज्ञहरूले भनेका छन्, आँखा शरीरको संवेदनशील अङ्ग भएकाले नियमित हेरचाह र सचेत जीवनशैली अपनाएको खण्डमा मात्र यसको तेज जीवनभर कायम रहन्छ।