काठमाडौँ । सुडानको दक्षिण कोर्डोफान राज्यस्थित कालोगी क्षेत्रमा बिहीबार भएको भीषण आक्रमणमा मृत्यु सङ्ख्या ११४ पुगेको राज्य सरकारले आइतबार पुष्टि गरेको छ। मृतक मध्ये ६३ जना बालबालिका रहेका छन् भने करिब ७१ जना घाइते भएका छन्। राज्यपाल मोहम्मद इब्राहिम अब्देल करिमका अनुसार स्थानीय स्वास्थ्य संरचना कमजोर भएकाले गम्भीर घाइतेहरूलाई अन्य अस्पतालमा सारिएको छ, जसका कारण मृतकमध्ये थप वृद्धि हुन सक्ने आशंका व्यक्त गरिएको छ।
सुडानी अधिकारीहरूले अब्दुलअजिज अल–हिलु नेतृत्वको विपक्षी सशस्त्र समूहले द्रुत सहयोग बलसँग मिलेर नागरिक बस्तीलाई लक्षित गर्दै आक्रमण गरेको आरोप लगाएका छन्। तर दुवै पक्षले घटनाबारे औपचारिक प्रतिक्रिया नदिएका कारण आक्रमणको वास्तविक जिम्मेवारी अस्पष्ट छ। प्रारम्भिक रूपमा स्वयंसेवी समूहहरूले ९ जनाको मृत्यु र ७ जना घाइते भएको जानकारी दिएका थिए। तर विस्तृत विवरण संकलनसँगै राज्य सरकारले मृतक सङ्ख्या ७९ बाट बढेर ११४ पुगेको अद्यावधिक गरेको हो। सुडानमा सन् २०२३ को अप्रिलदेखि जारी द्वन्द्वका कारण दसौँ हजार नागरिकको ज्यान गइसकेको छ भने लाखौँ जना विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका निकायहरूले पछिल्ला दिनमा कोर्डोफान क्षेत्रमा हिंसा तीव्र बन्दै गएको र नागरिक संकट गहिरिँदै गएको चेतावनी दिएका छन्।