काठमाडौँ । रौतहट प्रहरीले एक लाख १८ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको छ। ईशनाथ नगरपालिका–४ लत्मरी टोलमा खोटा नेपाली मुद्रा लिएर हिँडिरहेका तीन युवकलाई संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो।
मंगलबार अपराह्न भारततर्फबाट नेपाल प्रवेश गरिरहेको बीआर–०५–एटी–०९८३ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा रोक्न खोज्दा उनीहरू भाग्ने प्रयास गरेका थिए। भाग्दाखेरि फालिएको एक हजारका ११८ थान जाली नोट प्रहरीले घटनास्थलमै बरामद गर्यो।
पक्राउ पर्नेहरूमा देवाही गुनाही नगरपालिका–४ का २०,वर्षिय अजय पटेल २१ वर्षिय गेनालाल पटेल र भारत मोतिहारीका २३ वर्षिय जयप्रकाश कुमार रहेका छन्। उनीहरूबाट तीनवटा मोबाइल फोन र मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। सीमावर्ती क्षेत्रमार्ग हुँदै नक्कली नोट नेपाली बजारमा आपूर्ति गर्न खोजिएको हुन सक्ने प्रहरीको अनुमान छ। पक्राउ परेकाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी प्रदीप विष्णु बस्यालले जानकारी दिएका छन्।