काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका–६, नेपालटारमा एक महिला कर्मचारीलाई लुटपाट गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले मंसिर ८ गते भएको घटनामा संलग्न रहेको ठहर गरिएका उनीहरूलाई पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा स्याङ्जाका २७ वर्षीय ईश्वर बुढाथोकी, नुवाकोटका २० वर्षीय बिशाल राई, १८ वर्षीय साजन तामाङ र १९ वर्षीय समिर तामाङ रहेका छन्। उनीहरूले बेलुका कार्यालयबाट घर फर्किदै गरेकी एक महिला बैंक कर्मचारीलाई लक्षित गर्दै सुन, नगद तथा व्यक्तिगत कागजात लुटेको आरोप छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार मोटरसाइकलमा आएका समूहले महिलासँग रहेको झोला छिन्दै फरार भएका थिए।
घटनापछि गरिएको अनुसन्धानका क्रममा प्रहरीले उनीहरूको साथबाट १२.६३० ग्राम सुनको झुम्का, ७.८ लालको टप, रु २,५०० नगद, मोबाइल, चाबीको झुप्पोलगायतका सामान बरामद गरेको जनाएको छ। लुटपाटमा संलग्न रहेको प्रारम्भिक प्रमाण पाएपछि पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ। प्रहरीले यस्ता घटनाबाट सचेत रहन सर्वसाधारणलाई सन्देश दिँदै रातिको समयमा एक्लै हिँड्दा सावधानी अपनाउन आग्रह गरेको छ।