काठमाडौँ । रौतहटको वृन्दावन नगरपालिका–९ मुसाहामा एक महिलाको परिवारकै सदस्यले गरेको निर्मम हत्या बाहिरिएको छ। २५ वर्षीया तरीमा खातुनलाई गएराति हत्या गरी घरकै भुस राख्ने ठाउँमा खाडल खनी गाडिएको अवस्थामा प्रहरीले फेला पारेको हो।
मंगलबार बिहान स्थानीयको खबरपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली घटनास्थल पुग्दा खातुनको शव पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। मृतकका श्रीमान् शेख आदिल वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन्।घटनापछि ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य फरार छन्। उनीहरू डेढ वर्षका नाति मोहम्मद आरिफलाई समेत लिएर भागेको प्रहरीले पुष्टि गरेको छ।
वडा अध्यक्ष प्रवेज आलमका अनुसार केही हप्ता अघि विवाह समारोहका बेला खातुन र नातामा भतिजो पर्ने शेख अलाहुदिनबीच अनैतिक सम्बन्ध भेटिएपछि दुवैलाई प्रहरीका जिम्मा लगाइएको थियो। पछि दुवैले विवाहको मौखिक सहमति जनाएपछि ससुराको जिम्मामा छाडिएको मृतकका पिता ताज मोहम्मदले बताए। यस्तै, सोमबार राति हत्या भएको दृश्य देखेका मृतकका भाइ शेख आस मोहम्मदलाई ‘हल्ला गरिस भने मारिदिन्छौं’ भन्दै परिवारले धम्की दिएपछि उनी भाग्न सफल भएका थिए। उनले घटना प्रमाणका रूपमा तस्बिर माइतीतर्फ पठाएको परिवारजनले बताएका छन्।
प्रहरीका अनुसार मृतकको दाहिने खुट्टामा गहिरो चोट छ, टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अनुमान गरिएको छ। घटनास्थलबाट एक चक्कु बरामद गरिएको छ। तरीमा खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ। फरार परिवारजनको खोजी तीव्र बनाइएको छ र घटनाको विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।