काठमाडौँ । गत वर्ष विश्वमा प्रत्येक १० मिनेटमा एक महिलाको नजिकैका व्यक्तिद्वारा हत्या भएको तथ्याङ्क सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले नारीहत्या (फेमिसाइड) रोकथाममा कुनै ठोस प्रगति नदेखिएको टिप्पणी गरेको छ।
युएनओडिसी र युएन वुमेनले महिला हिंसा उन्मूलन दिवसका लागि जारी गरेको प्रतिवेदन अनुसार सन् २०२४ मा करिब ५० हजार महिला तथा बालिकाको हत्या घनिष्ठ साझेदार वा परिवारका सदस्यकै हातबाट भएको थियो। विश्वभर हत्या गरिएका महिलामध्ये झण्डै ६० प्रतिशत आफ्नै साथी वा आफन्तद्वारा मारिएका हुन्, जबकि पुरुष हत्या पीडितमा यस्तो दर मात्र ११ प्रतिशत छ। एक सय १७ देशका तथ्याङ्कमा आधारित प्रतिवेदनले दैनिक करिब १३७ महिला नारीहत्या अपराधको सिकार हुने जनाएको छ। सन् २०२३ को तुलनामा सङ्ख्या अलि कम भए पनि यो सुधारको संकेत नभएको, उपलब्ध तथ्याङ्कमा देखिने असमानताका कारण यस्तो देखिएको प्रतिवेदनले स्पष्ट पारेको छ।
अध्ययनले ‘घर नै महिलाका लागि सबैभन्दा खतरनाक स्थान बन्दै गएको’ चेतावनी दिंदै नारीहत्या विश्वका कुनै पनि क्षेत्रमा शून्यमा नझरेको उल्लेख गर्छ। अफ्रिकामा मात्र गत वर्ष झण्डै २२ हजार महिलाको हत्या भई सबै क्षेत्रमध्ये सबैभन्दा उच्च दर देखिएको छ। युएन महिला नीति डिभिजनकी निर्देशक सारा हेन्ड्रिक्सका अनुसार नारीहत्या कुनै एक्लै घटना होइनस यसको अघि नै धम्की, दुर्व्यवहार, अनलाइन–अफलाइन दुवै माध्यममा हुने उत्पीडनजस्ता संकेत देखिन्छन्। उनले प्राविधिक विस्तारसँगै गैर–सहमति तस्बिर साझेदारी, डक्सिङ र डिपफेकजस्ता डिजिटल हिंसा बढेको बताउँदै कडा कानूनी कार्यान्वयन र अपराधीलाई प्रारम्भमै जवाफदेही बनाउने आवश्यकतामा जोड दिइन्।