काठमाडौँ । दक्षिण कोरियामा हालसम्मकै सबैभन्दा ठूलो अनलाइन यौन शोषण प्रकरण संचालन गरेको ठहर लागेपछि टेलिग्राम–आधारित सेक्स–क्राइम रिङ ‘भिजिलान्टिजका नेता किम नोक–वान (३३) लाई अदालतले आजीवन कारावास सजाय सुनाएको छ।
सन् २०२० मेदेखि २०२५ जनवरी सम्म सञ्चालन गरिएको उक्त नेटवर्कमार्फत कम्तीमा २६१ जनालाई साइबर यौन शोषणमा पारी सामग्री उत्पादन र आदान–प्रदान गराइएको प्रहरीले जनाएको छ। यो संख्या कोरियामा दर्ता भएका साइबर यौन शोषण घटनामध्ये सबैभन्दा ठूलो हो। सामाजिक सञ्जालमार्फत पुरुष तथा महिलालाई टेलिग्राममा ल्याई ब्ल्याकमेल, यौन शोषण सामग्री उत्पादन–वितरण, नाबालिगमाथि दुर्व्यवहार तथा अवैध रूपमा खिचिएका दृष्य प्रयोग गर्न बाध्य पारेका थिए। अदालतले फैसला सुनाउँदै भन्यो, उपचारविहीन क्रुरता, दीर्घकालीन शोषण र पीडितले पाउनुपर्ने क्षतिपूर्तिको अभावका कारण किमलाई स्थायी रूपमा समाजबाट अलग गर्नु आवश्यक थियो ।
किमले सामाजिक सञ्जालमा डिपफेक, यौन जिज्ञासा वा गोपनीयतामा कमजोर देखिएका व्यक्तिलाई लक्ष्य बनाउँथे। धम्की, प्रताडना र व्यक्तिगत जानकारी लीक गर्ने डर देखाएर उनीहरूलाई अश्लील सामग्री तयार गर्न बाध्य बनाइन्थ्यो। केही पीडितलाई नै नेटवर्कभित्र इभान्जेलिस्ट ‘डिकन जस्ता उपाधि दिएर नयाँ पीडित भित्र्याउने काममा लगाइन्थ्यो। दक्षिण कोरियाली प्रहरी र अदालत दुबैले किमका अपराधलाई पिरामिड शैलीको संगठित अपराध भन्दै कडा सजाय आवश्यक रहेको बताएका छन्।