कठमाडौँ । दैनिक भागदौडभित्र धेरै मानिस घरमा शान्ति, सकारात्मकता र सहजता खोजिरहेका हुन्छन् । यसै क्रममा प्राचीन ज्ञान वास्तुशास्त्र पुनः चर्चामा आएको छ । वास्तुशास्त्रले दिशाबारे मात्र होइन, घरभित्रको वातावरणले मानिसको मन, व्यवहार र ऊर्जा कस्तो हुन्छ भन्नेबारे पनि सन्देश दिन्छ । यहाँ केही सजिलै अपनाउन सकिने वास्तु–भनाइहरू प्रस्तुत गरिएका छन् । जसले धेरैको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको अनुभव गरिएको छ ।
बिहानको प्रकाश जहाँ पर्छ, त्यहीँ शान्ति बस्छः वास्तुशास्त्रले बिहानको प्राकृतिक उज्यालोलाई अत्यन्त महत्वपूर्ण मान्छ । यदि घरमा बिहानको घाम पर्छ भने त्यो स्थान हल्का, ताजा र उर्जाशील हुन्छ । कथित ‘धार्मिक कुरा मात्र होइन–घामले चिस्यान हटाउँछ, हावालाई शुद्ध बनाउँछ र मनलाई पनि हल्का बनाउँछ ।
थुप्रिएका सामानले मन पनि थकित बनाउँछ : घरमा अनावश्यक सामान थुप्रिँदा वातावरण भारी महसुस हुन्छ । वास्तुशास्त्रले यस्तो स्थिति ‘नकारात्मक ऊर्जा को रूपमा वर्णन गर्छ, तर मनोविज्ञानले पनि यही कुरा भन्छ । अव्यवस्था,तनाव,मन कमजोर त्यसैले घरलाई हल्का राख्नु नै सबैभन्दा सजिलो समाधान हो । मुख्य ढोकालाई सफा राख्नु, सकारात्मकता बोलाउने पहिलो कदम हो । मुख्य ढोका घरको प्रवेश मात्र होइन, वातावरणको पहिलो प्रभाव पनि हो । ढोका वरिपरि फोहोर, जाले वा अव्यवस्था देखिनु ऊर्जा मात्र होइन, आगन्तुकमा पनि नकरात्मक प्रभाव पार्छ । त्यसैले ढोका उज्यालो, खुला र कुनै अवरोधबिना राख्न सुझाव दिइन्छ ।
किचनमा पानी र आगो झगडा गर्दा घरमा तनाव बढ्छ : किचनलाई वास्तुशास्त्रले परिवारको स्वास्थ्यसँग जोडेर हेर्छ । धारा (पानी) र चुल्हो (आगो) धेरै नजिक भए विवाद, गलतफहमी वा असन्तुलन बढ्ने मान्यता छ । चुल्हो वरिपरि सफा राख्नु र पानीको ठाउँ अलि टाढा राख्नु नै सरल उपाय हो ।
शयनकक्ष शान्त भयो भने जीवन पनि सहज हुन्छ : निद्रा बिग्रियो भने दिनभरको ऊर्जा कमजोर हुन्छ । वास्तुशास्त्रले बेडरुमलाई सधैं सफा, हल्का र न्यूनतम सामानयुक्त राख्न सुझाउँछ । फुटेका वस्तु, भुइँमा थुप्रिएका कपडा वा भारी सामान ओछ्यानमाथि राख्नु–यी सबै मनलाई बोझिलो बनाउने तत्व मानिन्छ ।
वास्तुशास्त्र वैज्ञानिक हो वा धार्मिक–यो बहसको कुरा हुन सक्छ । तर यसका धेरै सिद्धान्त जीवनका सामान्य नियमहरूसँग मिल्छ । सफा घर, खुला प्रकाश, सन्तुलित वातावरण र व्यवस्थित जीवन । यी कुरा अपनाउँदा मानिसको मन हल्का, वातावरण सकारात्मक र दैनिक जीवन सहज हुने अनुभव धेरैले बताइरहेका छन्। घरलाई हल्का राखेर सुरु हुने सकारात्मकता, बिस्तारै जीवनमै फैलिन्छ ।