काठमाडौँ । गरिखान देऊ अभियानका संयोजक मिराज ढुंगानाले बुधबार साँझ आफ्नै कार्यालयमा आक्रमण भएको दाबी गरेपछि जुन घटना सार्वजनिक चासोको विषय बनेको छ। उनले फेसबुकमा साँझ करिब ६ बजे नक्सालस्थित कार्यालयमा अचानक भीड पसेर आक्रमण गरेको र महिला सदस्यहरूसम्मलाई हातपात गरिएको उल्लेख गरेका थिए।
ढुंगानाले फेसबुकमा लेखेका छन्, हाम्रो अफिसमा साँझ ६ बजेतिर अट्याक भयो। हाम्रा साथीहरूमाथि हातपात भयो, महिला सदस्यहरूमाथि पनि हातपात भयो के गर्न खोज्नुभएको हो हामीलाई ? उनका पोस्टपछि घटनाले छिट्टै सनसनी मच्चायो। तर प्रहरीले भने ढुंगानाले दाबी गरेजतिको अवस्था नभएको प्रतिक्रियामा जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, ढुंगानाकै टिमका एक सदस्यले घटनाको समयमा नै फोन गर्दै विवाद हुन लाग्यो भनेर जानकारी दिएका थिए।
एसपी भट्टराईका अनुसनर साँझ ६ बजेतिर उहाँहरूको टिमकै एक जनाले फोन गर्नुभएको थियो। फोन आएलगत्तै पाँच मिनेटमै प्रहरी टोली पठायौँ। तर प्रहरीले घटनास्थल पुगेपछि अवस्था ढुंगानाको दाबीभन्दा फरक रहेको बताएको छ। प्रहरी टोली पुगेपछि एसपी भट्टराईले पुनः सोही सदस्यलाई सम्पर्क गरेर विवरण बुझ्दा उनले गम्भीर आक्रमण नभई सामान्य भनाभन मात्र भएको जानकारी दिएको प्रहरीको भनाइ छ।
प्रहरी पुगेपछि मैले फेरि सोधेँ प्रहरी हस्तक्षेप चाहिने खालको हो? उहाँले सामान्य विवाद भएको भन्नुभयो। उहाँहरू बीचको छलफलकै क्रममा भनाभन भएको रहेछ। यसपछि प्रहरीले थप हस्तक्षेप आवश्यक नदेखेको जनाएको छ। ढुंगानाले सार्वजनिक रूपमा भने आक्रमण भएको दाबी दोहोर्याइरहेका छन् भने प्रहरी पक्षले घटनालाई सामान्य विवादको रूपमा व्याख्या गरिरहेको छ।