काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न सरकारी र निजी संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धुलिखेल–३ का २१ वर्षीय अजय तामाङ, खानीखोला–१ का २१ वर्षीय विशाल भोलन, बनेपा–३ का २२ वर्षीय रवीन्द्र परियार, बनेपा–८ का १९ वर्षीय अभि सुधाकार र दोलखाको जिरी–१ का २७ वर्षीय भीम तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार, भोलनविरुद्ध २०८१ मा लागुऔषध मुद्दा दर्ता भएको थियो भने सुधाकारविरुद्ध २०७९ मा सवारी ज्यान मुद्दा दर्ता भएको थियो। पक्राउ परेकाको अनुसन्धानका लागि म्याद थप गरिएको छ। यसअघि प्रदर्शनका क्रममा १२ जनालाई पक्राउ गरिएको थियो। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले करिब १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुगेको जानकारी दिएका छन्।
प्रदर्शनसँगै फरार भएका ५३ कैदीबन्दीलाई पनि प्रहरीले विभिन्न मितिमा नियन्त्रणमा लिएको छ। चार महिनामा प्रहरीले अदालतले फैसला कार्यान्वयनका लागि पठाएका सूचीअनुसार ५३ जनालाई पक्राउ गरी उनीहरूबाट १२ वर्ष आठ महिना सात दिन कैद र रु २ करोड ६७ लाख ५९ हजार ९०० जरिवाना असुल गरेको जनाएको छ। अझै पाँच सय ४३ जना फरार रहेका छन्।