काठकाडौँ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ एक वृद्धको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरिएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
जलेश्वर–९ का करिब ६० वर्षीय बेचन राइनको टाउकोमा खुकुरी प्रहार भएपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। राइनको टाउकोको पछाडिबाट करिब चार पटक खुकुरी प्रहार गरिएको मृतकका छोरा सिरातुन राइनले जानकारी दिए। हत्यामा संलग्न रहेको आरोपमा धनुषा, नगराइन नगरपालिका–९ फुलगामा निवासी करिब २० वर्षीय गुड्डू मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९म्क्ए० शैलेन्द्रकुमार भट्टले बताए।
मण्डललाई घटनापछि सोही वडाको अर्को टोलमा रहेको दिदीको घर नजिकै लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ। पक्राउ पर्दा मण्डल रक्सीको नशामा रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मृतकका छोरा सिरातुन राइनका अनुसार उनका बुबा “कसैसँग झगडा नगर्ने” शान्त स्वभावका भएकोले घटनाको वास्तविक कारणबारे परिवारले कुनै जानकारी पाएका छैनन्। प्रहरीका प्रवक्ता भट्टले हत्या किन गरियो भन्ने यकिन कारण अनुसन्धानपछि मात्र खुल्ने बताए।