काठमाडौं । नेपाल प्रहरीका एकजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले डीआईजी ईश्वर कार्कीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । हाल उनी कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् ।
दानबहादुर कार्कीको प्रहरी महानिरीक्षकमा पदोन्नति भएपछि एआईजी पद रिक्त रहेको थियो । प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
