काठमाडौं । आज कार्तिक २१ गते शुक्रवारदेखि नेपालका सिनेमा हलमा दुई नयाँ नेपाली फिल्महरु ‘जारी–२’ तथा ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिज प्रदर्शन अन्तर्गत आजदेखि यी दुई फिल्महरु दर्शकमाझ आएका हुन् । उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘जारी–२’ एक सयभन्दा बढी शो संख्यासहित प्रदर्शनमा आएको छ भने टंक बुढाथोकीद्वारा निर्देशित ‘मन बिनाको धन’ लाई भने सिनेमा हलले औषत भन्दा कम शो उपलब्ध गराएका छन् ।
व्यवसायिक रुपमा सफल भएको ‘जारी’ को सिक्वेलको रुपमा निर्माण गरिएको ‘जारी २’ को बिहीवार साँझ काठमाडौंमा आयोजित रेडकापेट प्रीमियर शोमा अधिकांश दर्शकले फिल्मको प्रशंसा गरेका छन् । फिल्मले १० वर्षे द्वन्दकालमा छायाँ कसरी एउटा परिवारमा परेको थियो भन्ने विषयलाई सांस्कृतिक शैलीमा चित्रण गरेको प्रतिक्रिया दिएका छन् ।
यता ‘मन बिनाको धन’ पनि वास्तविक जीवनमा आधारित फिल्म हो । बाल गायक अशोक दर्जीको सांगीतिक संघर्ष तथा सफलताको कथामा आधारित यो फिल्म शिक्षामूलक तथा सन्देशमूलक बनेको निर्माण पक्षको भनाइ छ ।
‘जारी २’ मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, सिर्जना निङ्लेखुलगायतको अभिनय छ ।
‘मन बिनाको धन’ मा भने गायक अशोक दर्जीको मुख्य भूमिका छ भने रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, बिना राउत लगायतको पनि अभिनय रहेको छ ।