काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको नेपाली सेनाले जनाएको छ।सेनाको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले तथ्यांक प्रस्तुत गर्दै आन्दोलनको क्रममा २२ प्रदर्शनकारीको ज्यान गएको बताएका हुन्।
२३ र २४ गतेको घटनाको विस्तृत शब्दचित्रमा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको उल्लेख छ । ४१ जनालाई भने अन्य भनिएको छ । उनीहरू कोबाट मारिए भन्ने प्रश्न समेत उठेको छ । जेन-जी पुस्ताका युवा, किशोर विद्यार्थीहरूले आह्वान गरेको प्रदर्शनमा प्रहरकिो गोली लागेर २३ भदौमा नयाँ बानेश्वर क्षेत्रमा १९ र सुनसरीको इटहरीमा दुईजनाको मृत्यु भएको थियो।
आन्दोलनकारीबाट मारिएका ३ जना प्रहरीबाहेक अन्य ४१ जना भने लुटपाट र आगजनी तथा आफैंले लगाएको आगो सल्किएर मृत्यु भएको हुनसक्ने आशंका छ । यस्तै सिंहदरबार जोगाउन नसकेको विषयमा थापाले भने, ‘सिंहदरबार लगायतका संरचनाबारे उठेका प्रश्नहरू अत्यन्तै वैध छन्, सबैलाई स्पष्ट पार्न चाहन्छौं। राष्ट्रका महत्वपूर्ण संरचना क्षति हुनु दुःखद हो, तर तत्कालीन अवस्थालाई हेर्दा सेनाको कारबाही दुरूस्त र सटीक थियो।त्यतिबेला अवस्था अत्यन्तै तनावपूर्ण थियो र आन्दोलनका क्रममा केही स्थानमा आगजनी, तोडफोड र अराजकता भएका थिए।‘तर सेनाले ‘लेस देन लिथल’ (कम घातक) नियन्त्रणका उपाय अपनाएको थियो,’ थापाले भने।
यस्तै आन्दोलनका क्रममा ६१ जना भीआईपी तथा तिनका परिवारको हेलिकप्टरबाट उद्धार गरिएको छ । त्यस्तै २३ जना प्रहरीको पनि सेनाले हेलीबाटै उद्धार गरेको थियो । विवरण अनुसार विभिन्न ढंगले फसेका थप १२९ जनालाई जमिनबाट सुरक्षित उद्धार गरिएको जनाएको छ भने आन्दोलनका क्रममाा ६८८ सरकारी कार्यालय,२५९ जनाका निजी निवास,१२८ व्यापारिक प्रतिष्ठन र राजनीतिक दलका १९८ वटा कार्यालय आगजनी र तोडफोड भएका थिए ।
नेपाल प्रहरीका ३०७ कार्यालयमा तोडफोड र आगजनी भएको थियो । सेनाले २४ गते रातिबाट ६ देखि ८ घण्टामा स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।