काठमाडौं । बैंकिङ प्रणालीमार्फत हुने डिजिटाइजेसन हुने कारोबारलाई थप प्रवर्धन गर्न नेपाल राष्ट्र बैंकले एटीएममार्फत डेबिट कार्डबाट नगद झिक्ने सीमा घटाएको छ । केन्द्रीय बैंकले शुक्रबार भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई जारी गरेको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन,२०८१’मा संशोधन गर्दै डेबिट कार्डको सीमा घटाएको हो ।
संशोधित व्यवस्थाअनुसार अब ग्राहकहरूले बैंकको एटीएममार्फत डेबिट कार्डको प्रयोग गर्दा प्रतिकारोबार २० हजार, प्रतिदिन ५० हजारसम्म र प्रतिमहिना अधिकतम ३ लाख रुपैयाँसम्म नगद झिक्न पाउने छन् । जबकि, यसअघि डेबिट कार्डमार्फत प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाखसम्म र प्रतिमहिना अधिकतम ४ लाख रुपैयाँसम्म नगद झिक्न पाउने व्यवस्था थियो ।
केन्द्रीय बैंकले डेबिट कार्डको सीमा घटाए पनि प्रिपेड कार्ड र क्रेडिट कार्डको सीमा भने यथावत् राखेको छ । जसअनुरूप बैंक तथा वित्तीय संस्थाको प्रिपेड कार्डको प्रयोग गर्दा प्रतिकारोबार १० हजार, प्रतिदिन २० हजारसम्म र प्रतिमहिना अधिकतम २ लाख रुपैयाँसम्म नगद झिक्न पाउने व्यवस्था छ । तर, बैंक तथा वित्तीय संस्थाबाहेक सेवाप्रदायक संस्थाहरूको प्रिपेड कार्डबाट भने प्रतिदिन ५ हजारसम्म र प्रतिमहिना अधिकतम २५ हजार रुपैयाँसम्म नगद झिक्न पाउने व्यवस्था कायम छ । यस्तै, क्रेडिट कार्डबाट भने बैंक तथा वित्तीय संस्थाहरको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न सक्ने व्यवस्था यथावत् छ ।
यसै क्रममा नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डित पछिल्लो समय विद्युतीय माध्यमबाट हुने कारोबार वृद्धि भइरहेको अवस्थामा डिजिटल कारोबारलाई थप प्रवर्धन गर्न डेबिट कार्डबाट हुने नगद सीमा घटाएको बताउँछन् ।