काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो मातहतका तीन निकायहरूलाई आवश्यक निर्देशन दिएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठयक्रम विकास केन्द्रमा बुधबार छलफल गरी उनले निर्देशन दिएका हुन् । मन्त्री पुनले नास्टलाई एक साताभित्र उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने सुझाव दिने निर्देशन दिए । नास्टका ल्याबहरू उच्चकोटीको भएकोले काम पनि उच्चकोटीकै हुनुपर्ने बताए । उनले नास्टमा २ घण्टा छलफल गरेका थिए ।
मन्त्री पुनले बुधबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ३ घण्टा छलफल गरेका थिए । छलफलपछि उनले शिक्षकहरुको दरबन्दी मिलान, विद्यार्थी संख्या ज्यादै न्यून रहेको विद्यालयहरु मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरुको नियुक्ति गर्न देशैभर लागू हुने गरी कार्यविधि बनाउने, अनलाइन सिकाइको लागि डिजिटल शैक्षिक सामग्रीहरु निर्माणमा जोड दिएका थिए ।
पाठयक्रम विकास केन्द्रमा पनि उनले २ घण्टा छलफल गरेको बताएका छन् । छलफलपछि सामुदायिक र संस्थागत विद्यालयहरुको पाठ्यक्रमको विकास गर्दा गम्भीर भएर काम गर्न, पाठ्यक्रमको परिमार्जन र अद्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको विकासमा सहयोग गर्न, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यवहारिक शिक्षा, इतिहास, संविधानसम्बन्धी ज्ञान दिने कुरालाई उच्च प्राथामिकता दिने निर्देशन दिएका थिए ।