काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दसैँ–तिहारको बेला शिक्षकलाई तलब नदिने पालिकालाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले आइतबारभित्रै शिक्षकहरूलाई तलब उपलब्ध गराउन निर्देशन दिएका हुन् । दसैँतिहारका बेला तलब निकासा नभएको भन्दै शिक्षकहरूबाट व्यापक गुनासो आइरहेकाले आइतबारसम्म उपलब्ध गराउन उनले निर्देशन दिए ।
शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठासकेको जानकारी दिँदै आइतबारसम्म शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध नगराए सम्बन्धित पालिकालाई नियमानुसार कारबाही गरिने मन्त्री पुनले बताएका छन्।
उनले भनेका छन्, ‘तलब नख्वाउने प्रअहरूलाई सूचना ! दसैँ-तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरिदिएन भनेर धेरै गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाइसकेको छ। भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता विद्यालयका पालिकालाई नियमानुसार कारबाही गरिनेछ।’
