काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक प्रभावमा रोकिएका मुद्दा ब्रेक थ्रु हुने दाबी गरेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को शुक्रबार निरीक्षण गर्दै मन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताए ।
जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा पनि क्षति पुगेको थियो । त्यसको अवलोकनपछि उनले अपराध अनुसन्धानको क्रममा रोकिएका फाइलहरु खुल्ने बताए ।
सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई निर्देशन दिँदै मन्त्री अर्यालले भने ‘राजनीतिक कनेक्सनका आधारमा जे कुराहरु रोकिएका थिए, जे कुराहरू बिथोलिएका थिए अब त्यस्तो हुँदैन। यो सरकारको म्यान्डेड नै सुशासन हो। सुशासन नभएसम्म शान्ति सुरक्षा हुँदैन। शान्ति सुरक्षा भएन भने ६ महिनाभित्रमा निर्वाचन गराउन पनि सकिँदैन ।’
अर्यालले सीआईबीमा पुगेर त्यहाँ अनुसन्धान भइरहेका मुद्दा र त्यसलाई तीव्रता दिन निर्देशन पनि दिए । शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्न पनि राजनीतिक कनेक्सनका फाइल खोल्नुपर्ने उनले जोेड दिए । मन्त्री अर्यालले भने, ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो । त्यस्तो अब हुँदैन ।’
प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसमेतलाई अगाडी राखेर उनले भने, ‘अब कुनै पनि प्रभावमा अनुसन्धान नरोक्नुस् ।’सीआईबीको कार्यक्षेत्र बारे जानकारी भइसकेपछि सुशासनको मामिलामा फड्को मार्न आवश्यक रहेको गृहमन्त्री अर्यालले औँल्याए।
सुशासन दिन नसकेकै कारण यसअघिको सरकार र जनप्रतिनिधिहरुको भूमिका बिचैमा भंग भएको पनि अर्यालले बताए ।यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका तत्कालीन एसएसपी अहिले सीआईबी प्रमुख भएर अघिल्लो दिन मात्रै हाजिर भएका छन्। यसअघिको सरकारले प्रदेश समन्वय विभागमा थन्क्याएर महत्वपूर्ण जिम्मेवारी नदिएका केसीलाई यो सरकारले ठूलो मुद्दा अनुसन्धान गर्ने सीआईबीकै जिम्मेवारी दिएको छ।