काठमाडौँ । टिकटकमार्फत लोकप्रियता कमाएका कन्टेन्ट क्रिएटर आयुष सिंह ठकुरीले अब फिल्म खेल्ने भएका छन् । उनी निर्देशक माइकल चन्दको निर्देशनमा बन्ने नयाँ फिल्म ‘राम नाम सत्य’बाट नेपाली रजतपटमा प्रवेश गर्न लागेका हुन् ।
निर्माता उपेन्द्र शाही र निर्देशक चन्दले आयुषसँग अभिनयका लागि औपचारिक कागजी सम्झौता गरिसकेका छन् । फिल्म साइन गरेपछि आयुषले मिडियासँग प्रतिक्रिया दिँदै भने, ‘मलाई धेरै फिल्मको अफर आएको थियो । तर, ‘राम नाम सत्य’को कथा सुनेपछि यो फिल्म नै मेरो अभिनय यात्रा सुरु गर्न उपयुक्त लाग्यो । मेरो भूमिका दमदार छ, त्यसैले यो फिल्म रोजेको हुँ ।’
फिल्मका निर्देशक चन्दका अनुसार आयुषले छायांकन अगाडि नै अभिनय तथा एक्सनको तयारी गरिरहेका छन् । ‘हामीले आयुषलाई एक्सन तालिम दिइरहेका छौं । अब, अभिनयको कोर्स पनि सुरु हुँदैछ । उनी फिल्मका लागि निकै मिहिनेत गरिरहेका छन्,’ निर्देशक चन्दले जानकारी दिए । सस्पेन्स, प्रेम र एक्सन मिश्रित कथा लिएर तयार हुँदै गरेको ‘राम नाम सत्य’ साउन २९ गतेबाट छायांकनमा जान तयारी भइरहेको छ ।